राजधानीमा खुल्यो फिल्म पढाउने एकेडेमी, दिन सक्छ ओस्कार कलेजलाई धक्का

चलचित्र सम्बन्धी अध्ययन गरेका व्यक्तिहरु कमै मात्र नेपाली चलचित्रक्षेत्रमा क्रियाशिल छन् । चलचित्र सम्बन्धी अध्ययन भएका व्यक्तिहरु यस क्षेत्रमा नहुँदा नेपाली चलचित्रक्षेत्रको विकास हुन नसकेको गुनासो धेरै बर्षदेखी सबैले सुन्दै आएको कुरा पनि हो । नेपालमै चलचित्र सम्बन्धी अध्ययन गराउने कलेजहरु नहुँनुले पनि दक्ष चलचित्रकर्मीहरु नेपाली चलचित्रक्षेत्रले पाएको छैन भन्दा फरक पर्दैन । त्यहि क्रममा केहि बर्ष अघिदेखी राजधानीमा सरकारी तहबाट ‘ओस्कार फिल्म कलेज’ ले चलचित्र सम्बन्धी अध्ययन गराउन सुरु गर्यो । अब ओस्कार कलेजसँग प्रतिस्पद्र्या गर्न राजधानीमा नयाँ एकेडेमी खुलेको छ, जसले चलचित्र सम्बन्धी सबै अध्ययन गराउने भएको छ । एभरेष्ट फिल्म एकेडेमी नाम दिइएको यस कलेजले 'निर्देशन, अभिनय, छायांकन र सम्पादन-भीएफएक्स' सम्बन्धी अध्ययन गराउने एकेडेमीका सीइओ प्रकाश पुरीले जानकारी दिए । यसै बिच बिहिबार एकेडेमीको प्रागणमा आयोजित एक कार्यक्रमका बिच सुचना तथा सञ्चारमन्त्री शेरधन राईले एभरेष्ट फिल्म एकेडेमीको औपचारिक रुपमा उद्घाटन गरेका छन् । एकेडेमीको डिरेक्टरमा निर्देशक उज्ज्वल घिमिरे, विश्व बस्नेत ‘फ्याकल्टी डिरेक्टर’, ज्योत्सल राजभण्डारी प्रशासनिय निर्देशक र विशाल श्रेष्ठ मार्केटिङ निर्देशकको रुपमा रहेका छन । 

एकेडेमीमा लक्ष्मीनाम शर्मा र उज्ज्वल घिमिरेले निर्देशन सिकाउने छन् भने विश्व बस्नेत, गौरी मल्ल, गंगाप्रसाद तिवारी, रेनशा राई, चन्द्र पन्त, टंक चौलागाईले विद्यार्थीहरुलाई अभिनयको विषयमा अध्ययन गराउने छन् । त्यस्तै प्रेम उपाध्याय र विश्नु कल्पीतले छायांकनतर्फको अध्ययन गराउने छन् भने रजनी पन्त, दशरथ गिरीले दृश्य सम्पादन र भीएफएक्सको विषयमा अध्यापन गराउने बताइएको छ । उक्त एकेडेमीको सल्लाहाकारमा भने गेहेन्द्र धिमाल, छविराज ओझा, मिथिला शर्मा, दीपिकराज गिरी र बाबुराम ढकाल रहेका छन् । कार्यक्रममा बोल्दै एकेडेमीका सिइओ प्रकाश पुरीले असार अन्तिम हप्ताबाट विद्यार्थीहरुलाई चलचित्रको विषयमा अध्ययन गराउन सुरु गरिने जानकारी दिए । उनले एकेडेमीमा जो कोहिँलाई भर्ना नदिने बताउँदै जसले चलचित्रक्षेत्रमा केहि गर्ने सोच बोकेका छन् उनीहरुलाई मात्र भर्ना गराएर अध्ययन गराउने बताए । यस एभरेष्ट फिल्म एकेडेमीको अध्यक्षको रुपमा भने चर्चित कलाकार सुनिल थापा रहेका छन् ।