समिक्षा: फाटेको जुत्ता

नेपाली चलचित्र जगतमा  हास्यप्रधान  चलचित्र  निर्माण  भईरहेको  बेलामा  बेग्लै  किसिमको हास्यरस पस्कन सफल चलचित्र हो "फाटेको जुत्ता" । कथा पटकथा को पक्ष साह्रै बलियो नभएपनि मनोरन्जनात्मक हिसाबमा उत्कृष्ट मान्न सकिन्छ  "फाटेको जुत्ता" लाई । 

चलचित्रको सुरुवात हुन्छ मिण्टु (सौगात मल्ल) को बुवा प्रताप सिंहको मृत्युको क्षणबाट। प्रतापसिंह एउटा डन भएतापनि गाउँले हरुको सेवा गर्ने, धनिहरुबाट लुटेर ल्याएको सम्पति गरीब हरुमा  बाढ्ने निष्ठावान, दयावान मानिस हुन्छ जसको मृत्यु मलेरियाबाट हुन्छ र उसले मर्दामर्दै गाउँमा एउटा अस्पताल निर्माण होस् भन्ने चाहना पोक्छ ।

त्यसको २० बर्षपछि यस्तो निष्ठावान पिताको छोरा मिन्टू भने गाउँमा कुखुरा चोर भएर निस्कन्छ । यस्तै एकदिन इन्दु (प्रियंका कार्की) जो महन्त ठाकुर (रबिन्द्र झा), (अहिलेको  गाउँको डन) को गाउँमा आगमन हुन्छ । महन्त ठाकुर र प्रतापसिंह एउटै ग्यांगमा पहिले काम गर्ने साथीहरु हुन्छन  र त्यहि मित्रताको कारण सानैमा मिन्टू र इन्दुको बिवाह पनि गरिदिएका हुन्छन । इन्दुको सहरबाट आगमन पश्चात मिन्टुको आमा र मिन्टु  भएर महन्त ठाकुरकोमा आफ्नी बुहारी इन्दुलाई लिन भनेर जान्छन जसको फलस्वरूप महन्त ठाकुरले उनीहरुलाई गाली गरेर मिण्टुको फाटेको जुत्ता देखाउदै उसको हैसियत बारे खिल्ली उडाउछन र इन्दुले पनि जान अस्विकार गर्छे ।

यस्तो बेइजति पछि मिन्टु पनि आफ्नो बुवाजस्तै डन बनेर इन्दुलाई उडाएर लैजाने संकल्प गर्दै त्यहाँ बाट निस्कन्छ । त्यसपछिको चलचित्र भने मिन्टु डन बनेर कसरी आफ्नो इच्छा पुरा गर्छ वा उसका इच्छाहरु इच्छामै सिमित रहन्छन भन्ने कुरामा केन्द्रित छ ।


सबल पक्ष :

चलचित्रको सबल पक्ष भनेको यसको कमेडीनै हो। कथा वा पटकथाको आधारमा मुल्यांकन गर्ने हो भने चलचित्रमा खासै दम छैन र धेरै कमजोरी देखिन्छन । तर मनोरन्जनात्मक दृष्टिकोणबाट हेर्ने हो भने चलचित्र अतिनै सबल छ । संवाद, पार्श्व संगीत फिल्मका सबल पक्ष हुन् । साथै सौगात मल्लको चरित्र फिल्ममा आनन्द प्रदान  गर्ने खालको छ । अलि नसुहाउदो जस्तो देखिए पनि यस्ता "नो ब्रेनर" खालका चलचित्रमा त्यस्तो अभिनय सहजै पचाउन सकिन्छ । साथै अनोज  पाण्डे र कामेश्वर चौरासियाले मिन्टुको सहायकका भूमिकामा राम्रो काम गरेको देखिन्छ । महन्त ठाकुरको हास्यास्पद खलनायकको शैली पनि चलचित्रमा रमाइलो प्रदान गर्ने खालको छ । संगीतको कुरामा पनि जम्मा २ वटा गीत छन् र दुवै गीत राम्रा छन् भन्न मिल्छ । ठाउँठाउँमा प्रयोग भएका हिन्दी फिल्महरुका नायकहरुको क्यारिकेचर सुहाउँदो नै देखिन्छ । प्राविधिक रुपमा पनि चलचित्र राम्रै बनेको महसुस हुन्छ ।

कमजोर पक्ष :

कमजोर पक्षको कुरा गर्दा फिल्मको कथालाईनै लिन सकिन्छ । मध्यान्तर सम्म फिल्मको केहि पनि कथा अगाडी बढ्दैन र त्यसपछि पनि कथामा खासै दम देखिदैन । साथै हिन्दि भाषाको प्रयोग अलि बढिनै भएको महसुस पनि हुन्छ । 

निचोड :

समग्रमा भन्नु पर्दा कमेडीको दृष्टिकोणले फिल्म अतिनै उत्कृष्ट छ र कथामा खासै चासो नदिई फिल्म हेर्दा अतिनै रमाइलो हुन्छ । नेपाली फिल्महरुको सन्दर्भमा भन्नुपर्दा एकपटक हेर्नु पर्ने फिल्मको रुपमा "फाटेको जुत्ता" लाइ लिन सकिन्छ ।

रेटिङ्ग : ३ / ५ 



TAGS : Fateko Jutta , Saugat Malla , Priyanka Karki , Anoj Pandey , Nikesh Khadka , Rabindra Jha , Kameshwor Chaurasia ,


MOVIES THIS WEEK

No Movies!

MOVIES NEXT WEEK

No Movies!