समिक्षा : झ्यानाकुटी


रेटिंग : 0. ५  / ५ 

यस बर्षकै प्रतिक्षित र ट्रेलरबाट धेरै आशावादी बनाएको फिल्महरुमध्ये एक हो झ्यानाकुटी। कमेडी विधामा आधारित यस चलचित्रको सुरुवात हुन्छ बुत बहादुर (सौगात मल्ल) र मालती (बेनिषा हमाल) को माया प्रेम दर्शाउने एउटा गीतबाट। बिहे भैसकेका बुत बहादुर र मालतीको एउटा छोरा पनि हुन्छ, र यहि सानो परिवारको कथामा त्यसपछि फिल्म केन्द्रित हुन्छ। 

बुत बहादुर जाँड रक्सी खाने खालको श्रीमान हुन्छ। श्रीमानको कुलतबाट मालतीपनि हैरान भैराखेकी हुन्छे। यस्तैमा एकदिन बुलबुलेको मासु पसलबाट मालतीले खसीको मासु लिएर आउँछे। मालतीलाई खसीको मासु एकदमै मन पर्ने भनेर देखाईएको छ। रक्सि खान पैसा नपुगेको निंहुमा बुत बहादुरले घरमा भर्खरै ल्याएर राखेको मासु चोरेर लगेर रक्सि पसलमा बुझाउँछ। आठ महिनाकी सुत्केरी मालतीलाई आफ्नो श्रीमानको यस व्यवहारबाट सार्हैनै चित्त दुख्छ र फिल्मको मुख्य विषयवस्तु यी दुई श्रीमान श्रीमतीको झगडाको पनि सुरुवात हुन्छ। झगडाले अलि नराम्रो रुप लिंदै मालतीले घर छोडेर जान्छे। घर छोडेर जाने बेलामा मालतीले अब रक्सि छोडेर मासु खान थालेपछि मात्र घर फर्कने भनेर बताउँछे। त्यसपछि बाँकी फिल्मको कथावस्तु भनेको बुत बहादुरले आफ्नी श्रीमती फर्काउन सक्छ वा सक्दैन वा मालती आफै घर फर्किन्छे, त्यहि विषयको वरिपरि घुमेको छ।  

सबल पक्ष :

यथार्थ रुपमा भन्नु पर्दा फिल्ममा कुनै पनि सबल पक्ष नरहेको मैले महशूस गरें। तर पनि फिल्मको अन्तिममा बुत बहादुर र मालतीको आफ्नो काका संगको कुराकानी चाहिँ रमाइलो छ। 

कमजोर पक्ष:

चलचित्र पुरै कमजोरीहरुले भरिपुर्ण छ। निर्देशन पक्ष एकदमै फितलो, कलाकार कसैको पनि अभिनयलाई राम्रो भन्न नमिल्ने खालको रहेको छ। फिल्मको कथावस्तु एक्दैमै सतही, कुनै पनि चरित्रलाई अभिनयद्वारा न्याय गर्न नसकिएको, कथा प्रवाहमा धेरैनै त्रुटीहरु रहेको दर्शकले सजिलै पत्ता लगाउन सक्छन। फिल्मको अर्को कमजोर पक्ष यसको लम्बाईलाई पनि लिन सकिन्छ। २ घण्टा २६  मिनेटको चलचित्र, त्यसमाथि कुनै पनि पक्ष राम्रो नहुँदा दर्शकहरुमा नैराश्यताको माहोल पनि सिर्जना हुन्छ। नराम्रो हुँदा हुँदै त्यसमा दर्शकलाई हसाउँन प्रयोग गरिएको ट्वाईलेट ह्युमर ले झन् उल्टो लाजमर्दो स्थितिको सिर्जना गर्छ। फिल्म जे जस्तो भएपनि जहिले पनि औसतमा राम्रो भन्न सकिने सौगात मल्लको अभिनय पनि यो फिल्ममा एकदम फितलो रहेको छ। उनको अभिनय अलि जबर्जस्ती गरिएको जस्तो, कता नमिलेको जस्तो देखिन्छ। फिल्मको कथावस्तुको मुख्य आधार बनाईएको श्रीमान श्रीमतीको झगडा र घरै छोडेर हिड्नुपर्ने संवेदनशीलतालाई जति हलुका किसिमले चित्रण गर्न खोजिएको छ, त्यो एकदमै खस्रो र नमिलेको महशूस मैले गरें। संवेदनशील बिषयलाई हलुका तवरले वा कमेडीको माध्यमबाट प्रवाह गर्नु नराम्रो मानिदैन तर त्यस्ता कुरालाई राम्रोसंग प्रस्तूत गर्न नसक्दा त्यसले नमिठो अनुभव गराउँछ र दर्शकहरुको मानसपटलमा पनि केहि छाप छोड्न सक्दैन।   

जुन किसिमले नेपाली चलचित्र क्षेत्रमा फिल्महरूको निर्माण हुन्छ , त्यसको तुलनामा यो चलचित्रसंग प्रशस्त स्रोत साधनहरु थिए। नाम चलेका निर्देशक सिमोश सुनुवार भनौं वा रचनात्मक रुपमा सहयोग गर्नका लागि निशा अधिकारी, फिल्मलाई औसत रुपमै राम्रो बनाउन सकिन्थ्यो। तर त्यस्तो देखिएन, फिल्ममा  अझै धेरै मिहिनेत गर्न सकिने ठाउँहरु प्रशस्तै रहेको मैले अनुभव गरें। फिल्मको ट्रेलर हेरेर दर्शकहरु हलसम्म धाउने गर्छन् अझ यस्ता दिग्गज कलाकारहरु जोडिएको चलचित्र हेर्न सबैलाई उत्सुक्तानै हुन्छ। तर फिल्म पुरै हेरेर सक्दा दर्शकहरु आफु ठगिएको महशूस गर्न बाध्य हुन्छन्। यस्ता आशालाग्दा चलचित्रहरुको यस्तो किसिमको प्रदर्शनले नेपाली सिनेजगतलाई अगाडी बढाउनको साटो पछाडी धकेल्ने मेरो ठम्याई छ।  



TAGS : Jhyanakuti , Simosh Sunwar , Nisha Adhikari , Saugat Malla , Benisha Hamal ,


MOVIES THIS WEEK

No Movies!

MOVIES NEXT WEEK

No Movies!