युवापुस्ता ढुलक्कै टोपी दिवसमा

रिल नेपाल डटकम । अधिकांश नेपालीहरू अङ्ग्रेजी नयाँ वर्ष मनाउन व्यस्त भइरहेका बेला नेपाली पहिचान झल्किने ढाका टोपी लगाएर युवायुवतीको एक समूह राजधानीको सडकमा निस्कियो ।

‘हाम्रो शान, हाम्रो मान र हाम्रो पहिचानं’ भन्ने नाराका साथ सोमबार पाँचौ अन्तर्राष्ट्रिय टोपी दिवस मनाइएको छ ।

बुढापाका र औपचारिक समारोहमा मात्रै लगाइने गरेको ढाका टोपी शिरमा ढल्काएर तन्नेरीहरु सडकमा निस्किएपछि कतिपयले अनौठो पनि माने ।

सामाजिक सञ्जालमार्फत एकजुट हुने र टोपी दिवस मनाउने अभियान चलाएका युवाहरुको समूह बसन्तपुरमा बिहानदेखि भेला भएका थिए । भेलामा सहभागी हुनेहरुले सकभर नेपाली पोशाक, नभएपनि नेपाली टोपी अनिवार्य लगाउनुपर्ने सर्त राखिएको थियो ।

पाश्चात्य संस्कृतिले मुलुकलाई गाँजिरहेको र नेपाली मौलिक पहिरन गुमिरहेका बेला ढाका टोपीको संरक्षण गर्ने उद्देश्यले जागरुक युवा अभियान नेपाल’ हरेक वर्ष अङ्ग्रेजी नयाँ वर्षमा यस्तो कार्यक्रम गर्दै आएको छ । अभियानले जनवरी एक तारिकलाई ‘अन्तर्राष्ट्रिय ढाका टोपी दिवस’ नाम दिएको छ र हरेक वर्ष यसैगरी कार्यक्रम गर्दै आएको छ ।


भेलामा सहभागी युवाहरुले ‘हाम्रो मान हाम्रो शान र पहिचान, नेपाली पोशाकलाई सम्मान’, ‘नेपाली म, नेपाली पन, राष्ट्रिय पोशाक जगेर्ना’, ‘हाम्रो अभियान मेरो ढाका टोपी, मेरो गौरव, मेरो पहिचान’ लगायतको नारा लेखिएका प्लेकाड बोकेका थिए ।

अङ्ग्रेजी नयाँ बर्ष मनाउनु नराम्रो कुरा होइन तर यसलाई नेपालीपन झल्किने गरी मनाउन सके यसको थप महत्व झल्किन्छ कि भन्ने उद्देश्यले टोपी दिवसको सुरुआत भएको अभियानमा रहनुभएको धनश्याम श्रेष्ठले जानकारी दिनुभयो ।

बसन्पुरमा ढाका टोपी र नेपालीको पहिचान एक हो भन्ने उद्देश्यले विदेशी पर्यटकलाई पनि टोपी लगाउन दिइएको थियो ।

ढाका टोपी लगाएर नेपाली झण्डा बोकी राख्नुभएको सजिना कार्की भन्नुहुन्छ, टोपी लाएर कुनै व्यक्तिलाई सामान्यतः कुनै हानी हुन्छ, यस्तो मलाई लाग्दैन । यस दृष्टिले टोपी लाउनु कुनै ठूलो कुरो होइन ।

उहाँ थप्नुहुन्छ, क्रिसमस डेमा आफ्ना बच्चालाई क्रिसमस ह्याट लगाउन उत्प्रेरित गर्ने, आफैंले लगाउने अनि जनवरी १ मा नेपाली टोपी लाउन नरुचाउने यस्तो प्रबृति राम्रो होइन ।

कार्कीले सके सधै नेपाली टोपी लगाउँ नसके एक दिन भएपनि लगाएर यसको सम्मान गरौं भन्नुभयो ।

विगतका वर्षमा जस्तै यस वर्ष पनि नेपाली टोपी लगाएर नेपालीपनका साथ अङ्ग्रेजी नयाँ वर्ष मनाएको क्षितिज श्रेष्ठले बताउनुभयो ।

नेपालमा मात्र नभएर देश विदेशमा रहेको नेपालीले पनि जनवरी १ मा ढाका टोपी लगाएर ‘अन्तर्राष्ट्रिय टोपी दिवस’ मनाउने गरेको पाइन्छ ।

यस्तै सामाजिक सञ्जाल फेसबुकमा पनि सबैले नेपाली टोपी लगाएर फोटाहरु पोस्ट गरेको पाएन्छ ।

शताब्दीऔँदेखि भइरहेको विभिन्न प्रकारका नेपाली टोपीको प्रयोगलाई अझै व्यापक र विश्वमय बनाउने उद्देश्यले सन् २०१४ जनवरी १ देखि संसारभर अन्तराष्ट्रिय नेपाली टोपी दिवस मनाउन थालिएको हो ।