‘१ बर्ष भित्रै बक्स अफिस लागू हुन्छ’: निकिता पौडेल

चलचित्र विकास बोर्डमा अध्यक्ष पदमा नियुक्त भएसँगै चलचित्रकर्मी निकिता पौडेलको आलोचनात्मक चर्चा धेरै भयो । तर, निकिता यसलाई आलोचना मान्न तयार छैनन् । उनी भन्छिन्-‘यस अगाडि त बोर्ड अध्यक्षलाई नै बोर्डमा प्रवेश गर्न समेत नदिइएको थियो । अध्यक्ष नियुक्त भएसँगै ठूला आन्दोलन पनि भएका थिए । तर, यसपटक मैले त्यस्तो केहि भोग्नुपरेन ।’

उनले आफ्नो राजनीतिक नियुक्ती नभई सरकारी नियुक्ती भएको बताइन् । निकिताले अनलाइनखबरसँग भनिन्-‘यो मेरो सरकारी नियुक्ती हो । म नियुक्ती हुँदा राजनीतिमा आएको परिवर्तनले मात्र केहि समस्या भएको हो । संचारमन्त्रालयबाट मलाई पूर्ण साथ र सहयोग छ ।


         १ बर्षमा बक्स अफिस लागू

चलचित्र विकास बोर्डमा आउने पछिल्ला केहि अध्यक्षको मुख्य एजेन्डा नै बक्स अफिस बन्ने गरेको छ । हलमा बक्स अफिस लगाउने भन्दै आएका यस अगाडिका २ अध्यक्षले केहि पनि काम गर्न सकेनन् । निकिताको पनि मुख्य एजेन्डा बक्स अफिस नै छ ।

उनले भनिन्-‘कोहि पनि मानिस बोर्डमा आउने वित्तिकै काम गर्न सक्दैन भनेर आलोचना गर्नु राम्रो होइन । पहिला काम हेर्नुपर्छ अनी मात्र मुल्यांकन गर्न आवश्यक छ । मैले १ बर्ष भित्रमा बक्स अफिस लागू गर्न सकिनँ भने मेरो आलोचना गर्न म आग्रह गर्दछु ।’ निकिताका अनुसार, चलचित्र विकास बोर्डले १ बर्ष भित्रमा देशका सबै हलमा बक्स अफिस लागू गराउनेछ । साथै, केहि महिनामै काठमाण्डौ र देशका मुख्य मुख्य स्टेशनमा इ-टिकेटिङ प्रणाली सुरु हुनेछ ।

म सक्षम छु भनेर बोर्डमा आएँ

निकिताका अनुसार, उनी राजनीतिक नियुक्ती नै भएको भए चलचित्र विकास बोर्डमा आउने बिषयमा सोच्ने थिइनन् । तर, सरकारले गोरखापत्रमा विज्ञापन नै निकालेर शैक्षिक योग्यता र अनुभवको आधारमा नियुक्त गर्ने भनेका कारण उनले आफूलाई योग्य ठानेर आवेदन दिएकी हुन् ।

निकिताले स्पष्ट पार्दै भनिन्-‘राजीनितक नियुक्ती भएको भए मैले यस बिषयमा सोच्ने नै थिइनँ । तर, जब मैले गोरखापत्रमा विज्ञापन देखेँ, त्यसपछि चलचित्र विकास बोर्डका लागि म योग्य छु जस्तो लाग्यो र आवेदन दिएँ ।’ उनले अगाडि थपिन्-‘मैले संचार बिषयमा स्नातोकोत्तर गरेकी छु । सानैबाट चलचित्र क्षेत्रमा नै हुर्किएँ, वुझेँ, पढेँ । यसैले यो क्षेत्रका लागि मैले नगरे कसले गर्ला र भन्ने सोच आउँछ मलाई । आफ्नो अनुभव, अध्ययन सबै कुरालाई मिलाएर चलचित्र क्षेत्रको लागि २ बर्षमा केहि उल्लेखनिय काम गर्ने उद्देश्यले म यहाँ आएकी हुँ ।’

अब बोर्ड मिटिङ हुन्छ

चलचित्र विकास बोर्डका अन्य ३ सदस्यले बहिष्कार गरेका कारण निकिताले बोर्ड मिटिङ नै राख्न नसकेको खबर सार्वजनिक भैरहेका छन् । बोर्ड मिटिङ नै बस्न नसक्दा उनले कुनै एजेन्डा पनि अगाडि सार्न सकेकी छैनन् । तर, निकिता अब बोर्ड मिटिङ बस्ने बताउँछिन् ।

कुराकानीमा उनले भनिन्-‘राजनीतिमा आएको उतारचढावले केहि समस्या सुरुका दिनमा आएको थियो । तर, अब बोर्ड मिटिङ बस्छ । सदस्य ज्यूहरुले आफूहरुको साथ र सहयोग सधै रहने बताउनुभएको छ । उहाँहरुले पार्टीगत हिसाबका कारण मात्र सहयोग गर्न नसकेको तर व्यक्तिगत कारण नभएको बताउनुभएको छ ।’

चलचित्र विकास बोर्डले चलचित्र क्षेत्रका अन्य संघसंस्थासँग मिलेर काम गर्ने उनको भनाई छ । ‘संघसंस्थाहरुका पनि आफ्नै खालका गुनासो र माग छन् । ती सबैलाई उहाँहरुसँग बसेर समाधान खोज्ने प्रयासमा म सधै लाग्नेछु ।’

के हुन् त एजेन्डा ?

बक्स अफिस बाहेक निकिताले केहि एजेन्डा लिएर आफू बोर्डमा आएको बताएकी छिन् । केहि एजेन्डा चाडै नै सार्वजनिक गर्ने भन्दै उनले भनिन्-‘म चाडै नै गर्न लागेका कामहरु सार्वजनिक गर्छु । तर, चलचित्र क्षेत्रको हरेक विधामा काम गर्ने चलचित्रकर्मीलाई उनीहरुको काममा योग्य बनाउनुपर्छ भन्ने मलाई लागेको छ ।

यसैले, वर्कशप, तालिमहरुको कामलाई बोर्डले अगाडि बढाउनेछ । शिक्षा नै सबैभन्दा महत्वपूर्ण कुरा हो भन्ने मैले सोचेको छु । यसैले, चलचित्रकर्मीलाई आफ्नो विधामा योग्य बनाउनका लागि बोर्डबाट गर्नुपर्ने हरेक काम म गर्छु ।’ चलचित्र विकास बोर्डकै लागि आफूले आफू संलग्न संस्थाबाट राजीनामा दिएर आएको उनले बताइन् । उनले भनिन्-‘मैले गर्दै आएको काम छाडेर म यो क्षेत्रको विकासका लागि चलचित्र विकास बोर्डमा आएकी हुँ । यसैले, काम नहेरि आलोचना नगर्न म आग्रह गर्दछु । विकास बोर्डले संझनलायक काम मेरो कार्यकालमा गर्नेछ ।’

चलचित्र विकास बोर्डकी पहिलो महिला अध्यक्षको रुपमा पदमा बसेकी निकितालाई बोर्डको कुर्सी अहिलेसम्म भारी लागेको छैन । आशा गरौ, उनले चलचित्र क्षेत्रका लागि केहि संझनलायक काम गर्नेछिन् ।

                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              अनलाइनखबरबाट


TAGS : Nikita Poudel ,