समिक्षा : शेरबहादुर


रेटिङ्ग - ३ / ५ 

नेपाली चलचित्र जगतमा बनिरहेका सिनेमाभन्दा अलि पृथक थ्रिलर जनरामा बनाइएको चलचित्र शेरबहादुर सम्पूर्ण पक्षमा एकदमै सबल र उत्कृष्ट बनेको छ। यस्ता चलचित्रको निर्माणले नेपालमा पनि अलि फरक धारका सिनेमा बन्न सक्छन भन्ने कुराको पुष्टि गरेको छ र यो हामि सबै सिनेमप्रेमी दर्शकका लागि खुसीको कुरा पनि हो। 

 फिल्मको सुरुवात हुन्छ तीनजना साथीहरुको कथाबाट। कुमार ( कर्मा ) एक मेकानिक हुन्छ, बिहारी ( रबिन्द्र झा ) भारतबाट नेपाल कार तस्करी गर्ने एक तस्कर हुन्छ भने माया ( मेनुका प्रधान ) डान्स बारमा नाच्ने केटि हुन्छे। सामान बेच्ने मानिसहरु बनेर अरुको घरमा छिर्ने  र घरको निरीक्षण गरेर त्यसमा चोरी गर्ने काममा पनि यी साथिहरु सक्रिय रहेका हुन्छन। कोहि बाध्यताले त कोहि महत्वाकांछाले गर्दा चोरी गर्ने कार्यमा लागेका सबैको उद्देस्य भनेको पैसा कमाउनेनै हुन्छ। धेरै दिन सम्म मेहेनत गर्दा पनि ठुलो रकम हात पार्न नसकेका यिनीहरुले एक दिन एकजना भूपू सैनिक शेरबहादुर ( सुनिल थापा ) ले जग्गा बेचेर ल्याएको पैसा घरमै राखेको थाहा पाउँछन् र सोहि घरमा चोरी गर्ने निर्णय गर्छन। फिल्मको अगाडिको कथा भनेको उनीहरुको यहि उद्देस्य सफल हुन्छ वा हुदैन भन्ने कुरामा केन्द्रित छ।  

सबल पक्ष: 

चलचित्र सम्पूर्ण पक्षले एकदमै उत्कृष्ट छ। मुख्य रूपमा अभिनयको कुरा गर्दा सम्पूर्ण कलाकारहरुको सबल अभिनय देख्न पाइन्छ। विशेषगरी सुनिल थापाको अभिनयले दर्शकहरुको मन जित्न सफल हुन्छ। एउटा भूपू सैनिक र त्यसमाथि आफ्नो दृष्टि गुमाएको मानिसको भूमिकामा थापाले दरिलो प्रस्तुती दिएका छन्। फिल्मको कथाको मुख्य पात्रनै थापाको चरित्र भएका कारण पनि उनीमाथि धेरै जिम्मेवारी थियो र उनि त्यसमा खरो उत्रिएका छन्। त्यस्तै रबिन्द्र झाले पनि सदाजस्तै दर्शकहरुलाई मनोरन्जन गराउन सफल भएका छन्। उनका दृश्यहरु पर्दामा आउँदा दर्शकहरुले अत्यधिक रुचाएको मैले अनुभव गरे। कर्मा र मेनुका प्रधानले पनि आफुलाई दिईएको भूमिकालाई न्यायपूर्ण ढंगले दर्शकमाझ प्रस्तूत गर्न सफल भएको मलाई लाग्यो। 

प्राविधिक रूपमा पनि फिल्म राम्रो भएको मैले अनुभव गरे। सस्पेन्स थ्रिलर चलचित्रमा पार्स्व ध्वनिको महत्वपूर्ण भूमिका हुन्छ र शेरबहादुर यस पक्षमा मलाई बलियो लाग्यो। त्यस्तै, छायांकन पक्ष पनि फिल्मको राम्रो रहेको छ।  विशेषगरी, अँध्यारोमा खिचिएका दृश्यहरुमा पनि राम्रो ध्यान पुर्याइएको छ। फिल्मको सम्पादन पक्ष पनि राम्रै रहेको छ।  एउटा मात्र गीत रहेको यस चलचित्रलाई सन्तुलित रूपमा प्रस्तूत गर्न निर्देशक सफल भएका छन्। 

फिल्मको अगाडिको भाग केहि सुस्त महसूस भए पनि मध्यान्तरसम्म आई पुग्दा फिल्मले गति लिई सक्छ र अत्यन्तै रोमान्चक बन्दै जान्छ। कथाले दर्शकहरुलाई अन्त्य सम्म बाँधेर राख्छ र अप्रत्याशित मोडहरुले कथामा थप रोमान्च थप्दै जान्छ। थ्रिलर जनरा मन पराउने दर्शकहरुले अवश्य पनि यो फिल्म मन पराउने छन् भने खासै रुचि नराख्ने दर्शकलाई पनि एकपटक यो नेपाली स्वादमा रहेको थ्रिलरलाई हेर्दा राम्रै लाग्न सक्छ। 

शेरबहादुर झट्ट हेर्दा कुनै विदेशी फिल्म संग मेल खाए जस्तो त देखिन्छ तर पनि जुन हिसाबले फिल्म युनिटले यसलाई नेपालीपनमा ढालेर प्रस्तूत गर्न मिहिनेत गरेका छन् त्यो प्रसंसनिय छ। यसलाई कुनै फिल्म संग तुलना गरेर हेर्नु भन्दा पनि एउटा नेपाली चलचित्र हो भनेर हेर्दा फिल्म उत्कृष्ट बनेको छ। 


TAGS : Sherbahadur , Sunil Thapa , Menuka Pradhan , Rabindra Jha , Mahesh Shakya (Karma) ,