भूकम्प प्रभावित फिलिलीसंग निखिलको भैरव : कसको पक्षमा कति दर्शक ??? (फिलिली विश्लेषणसहित)

नविन थापा : बैशाख ११ गते प्रदर्शन भएसंगै चलचित्र बजारमा पहिलो दिनकै उत्साहजनक ब्यापारबाट अगाडी बढेको चलचित्र 'रेशम फिलिली' बैशाख १२ गतेको विनासकारी महाभूकम्पका कारण निकै प्रभावित भयो | भूकम्प पछाडी ठप्प अवस्थामा रहेको नेपाली चलचित्र बजार भाद्र ५ गतेबाट प्रदर्शन भैरहेको 'होस्टेल रिटर्न्स'बाट पलाएको आशाको नयाँ तरंगमा डुबुल्की मार्दैछ | 

त्यसो त,पहिलो हप्ता राम्रो प्रदर्शन गरेको 'होस्टेल रिटर्न्स' आज शुक्रबारबाट प्रदर्शन आरम्भ भएका बहुप्रतिक्षित एक्सनप्याक चलचित्र 'भैरव' र भूकम्पले प्रभावित 'रेशम फिलिली'बाट प्रत्यक्ष प्रभावित हुदैछ | यसको मुख्य कारण,भूकम्प अगाडीको फिलिली क्रेज र ६ वर्षपछाडीको एक्सनस्टार निखिल उप्रेती कम्ब्याक हो | पहिलो दिन दुवै चलचित्रले सोचे अनुरुपको दर्शक साथ नपाएपनि दोश्रो दिन शनिबार (बिदाको दिन) भएकाले हलमा दर्शक कति ओइरिन्छन् त्यो प्रतिक्षाको बिषय हो | जसले दुवै चलचित्रको भविष्य निर्धारण गर्नेछ |



मेनस्ट्रिमका दर्शक टार्गेटेड 'भैरव'को आफ्नै दर्शकक्रेज छ भने 'रेशम फिलिली'को अर्कै | जुन चलचित्र जसरी प्रदर्शन भएतापनि एउटाबाट हुने प्रभाव समग्र चलचित्र क्षेत्रका लागी नकारात्मक असर हो | यस अर्थ दर्शकको मनोआकांक्षा बुझी चलचित्र प्रदर्शन गर्दा सबैलाई फाईदा हुने देखिन्छ |  

बैशाख १० गते राजधानीमा चलचित्र 'रेशम फिलिली'ले गरेको भव्य प्रिमियरपश्च्यात रिलनेपालमा प्रकाशित चलचित्रको विश्लेषण :-

धेरै लामो समयपश्च्यातको तारिफयोग्य एउटा नेपाली चलचित्र | बिशुद्द नेपालीपन, मुख्यतया: कमेडी सस्पेन्स र द्वन्दको सहि समिश्रण | सायद म्युजिक भिडियोबाट चलचित्र उद्योग छिर्ने निर्देशक मध्ये प्रणव जोशीनै पहिलो त्यस्ता व्यक्ति हुने निश्चित छ,जसको पहिलो चलचित्रले नै नयाँ र आश्चर्यपूर्ण रेकर्ड कायम गर्नेछ |

माधव वाग्ले 'लुट' को सफलतापछि जुन स्थानमा पुग्दैछन् त्यो अब 'रेशम फिलिली'ले देखाउदै छ | उनि निर्मातामध्ये 'वान मेन आर्मी' बन्ने पक्का छ | यसो त उनको केहि महिना पहिले प्रदर्शन भएको चलचित्र 'मिसन पैसा २'ले कुनै चमत्कार गर्न सकेन तर,फरक धारको चलचित्र निर्माण थालनी गरेका वाग्ले 'फर्स्ट लव', 'लुट' र 'छड्के' पश्च्यात 'रेशम फिलिली' मार्फत नयाँ उचाईमा पुग्दैछन् |  


एक वर्षको वर्कआउट, २ महिनाको वर्कसप र झन्डै ६० दिनको सुटिंग,सायद यो नै थियो कुनै नेपाली सिनेमा निर्माण गर्दा तय हुने सेड्युल मध्येकै सबैभन्दा बढी | गाउँको सोझो युवक 'रेशम' अर्थात् बिनय श्रेष्ठ जो अनगन्ती सुनौला सपना बोकेर वैदेशिक रोजगारीका लागि काठमाडौँ आईपुग्छ | मान्छे बेचेर पैसा कमाउने केहि त्यस्ता म्यानपावरमध्येको एउटामा पैसा फसाएर ती अनगन्ती सपना साकार पार्ने बाटो खोज्छ | 

गाउँमा आफ्नी बहिनी 'सुन्तली' को बिहे गरिदिने तथा साहुको ऋण चुक्ता गर्ने,उसका उदेश्यमध्येका केहि | तर,सोझो रेशमको भेट हुन्छ 'हरिया' अर्थात् कामेश्वर चौरसिया | फिल्मको हिरो बन्न संघर्षरत 'हरिया'संगको भेट र त्यो बीचका विभिन्न उतारचडावलाई निकैनै उत्कृष्ट शैलीमा प्रस्तुत गरिएको छ चलचित्र 'रेशम फिलिली'मा | 


लुट, छड्के लगायतका चलचित्रमा अभिनय गरेका चौरसियाले 'रेशम फिलिली'बाट 'लुट'का हाकुकाले अर्थात् सौगात मल्लको हाइपलाई मात दिने सम्भावना छ | धेरै चलचित्रमा काम गरेका थियटर आर्टिस्ट चौरसियाको जीवन्त अभिनय,उनको डाइलग डेलिभरी,एक्सप्रेशन,सबै कुराले दर्शकमा नयाँ कलाकारको जन्म गराइदिएको छ | दर्शकले हलबाट बाहिरिदा 'हरिया'लाई संगै मन मष्तिस्कमा लिएर निस्कने छन् | 

यता,'भिजिलान्ते','उत्सव', र 'झिग्राना'बाट खासै राम्रो स्थान बनाउन नसकेकी अभिनेत्री मेनुका प्रधानको ग्यल्यामरस अभिनयले सबैलाई तान्ने छ,छुने छ | कर्मा, आशुतोष श्रेष्ठ, लक्ष्मी गिरी, शिशिर वाङ्देल,अरुण रेग्मी लगायतका कलाकारको आआफ्नै स्थान र महत्व छ चलचित्र भित्र | ‘भिजा गर्ल’, ‘मञ्जरी’, ‘श्री ५ अम्बरे’लगायतका चलचित्रमा संगीत भरेर नकमाएको तारिफ 'रेशम फिलिली'को एउटा गीतले दियो संगीतकार कालीप्रसाद बास्कोटालाई | 


" पारि त्यो डाँडामा हेर घाम लाग्यो घमाइलो, लाग्यो मलाई रमाइलो, तिमी र घुम्न जाऊँ न........अनि, घामले मलाई सताउला, काली मलाई बनाउला, तिमी पिरतीको छाता ओढाउन..................." सामाजिक संजाल, यू–ट्युबमा अहिले ‘भाइरल’ बनेको यो गीत | बच्चादेखि वृद्धसम्मको क्रेज क्याप्चर गर्न सफल 'जालमा' शीर्षकको यो गीतले नेपाली संगीत क्षेत्रमै नयाँ रेकर्ड राख्यो | उक्त गीतका सयौ  कभर भिडियो बने, हजारौ मोबाइलमा ब्याकटोन बजे र लाखौ मुखमा गुनगुनाइयो | 


सांगीतिक पक्षमा अब्बल देखिएको चलचित्र 'रेशम फिलिली'को बिहिबारको प्रिमियर जति भव्य र सब्य थियो त्योभन्दा बढी चलचित्र हेर्ने उपस्थित चलचित्रकर्मी, संचारकर्मीबाट ओइरिएको तारिफ र प्रसंशा थियो | बर्षको सुरुवाती रिलिजमा 'रेशम फिलिली' चलचित्र उद्योगमा नयाँ उत्साहसंगै अन्य चलचित्रका लागि थप चुनौती बनेर खडा हुने निश्चित छ | 


"नेपाली चलचित्र उध्योगमा ‘झुर’ चलचित्रका पनि ‘हिट’ प्रोमो बन्छ । त्यस्ता चलचित्रकै कारण दर्शक भड्किएका छन् |" निर्देशक जोशीको यो भनाईले सार्थकता पाएको छ | साढे दुई घन्टा दर्शकलाई एकाग्र बनाएर मनोरंजन प्रदान गर्ने चलचित्र सायदै बन्ने गर्छन | त्यो मध्येको एक हो 'रेशम फिलिली' | नेपाली चलचित्र नहेर्ने दर्शकलाई फिलिली मोहले पक्कै तान्ने छ | पैसा तिरेर चलचित्र हेर्दा आउनु र पाउनुपर्ने मज्जा फिलिलीले अबश्य दिने छ | राम्रो चलचित्रको प्रसंशा र समर्थन सबैको हुनुपर्छ, जुन 'रेशम फिलिली'ले पाउदै छ |

'रेशम फिलिली' प्रिमियरका तस्बिरहरु हेर्न यो लिंकमा क्लिक गर्नुहोस् :-

चलचित्र 'भैरव'को ट्रेलर हेर्नुहोस् :-

चलचित्र 'रेशम फिलिली'को ट्रेलर हेर्नुहोस् :-


TAGS : Bhairav , Resham Filili , Hostel Returns , Binay Shrestha , Menuka Pradhan , Nikhil Upreti , del-Kameshwor Chaurasiya , Madhav Wagle ,


MOVIES THIS WEEK

No Movies!

MOVIES NEXT WEEK

No Movies!