'को बन्छ करोडपति' अब नेपालमा : राजेश हमालले होस्ट गर्नेछन् यो शो

नेपाल आइडलको सफलतासंगै अर्को विश्वविख्यात टेलिभिजन रियालिटि शो "Who wants to be a Millionaire"पनि नेपाल भित्रिने भएको छ | एपिवान टेलिभिजनले अन्तर्राष्ट्रिय फ्रेन्चाइज रियालिटी शो "Who wants to be a Millionaire" लाई "को बन्छ करोडपति" नाम दिएर नेपालमा भित्राएको हो |

"को बन्छ करोडपति" कार्यक्रमको प्रशारणबारे जानकारी दिन आयोजित एक समारोहमा यस कार्यक्रमले नेपालको टेलिभिजन इतिहासमा नयाँआयाम थपिने र नेपाली दर्शकलाई टेलिभिजन मार्फत बौद्धिक ज्ञान हासिल गर्न मद्धत पुग्ने बताइएको थियो ।


"को बन्छ करोडपति"को संचालकको रुपमा महानायक राजेश हमाल रहने भएका छन् | डेभिड व्रिक्स, माइक ह्वाइटहिल र स्टेभेन नाइटले शुरु गरेको "Who wants to be a Millionaire" प्रशारणमा ल्याउने नेपाल १ सय ६१ औ राष्ट्र हुनेछ ।

वेलायतमा सन १९९८ सेप्टेम्बर ४ मा शुरु भएको यो कार्यक्रम भारतमा मात्रै ४ वटा भाषामा प्रशारण हुने गर्दछ । नायक अमिताभ बच्चनले संचालन गर्ने "कौन बनेगा करोडपति" नेपालमा पनि उत्तिकै लोकप्रिय रहेको छ | एसआरबीएन मिडियाको सहप्रायोजनमा 'को बन्छ करोडपति' आउँदो बैशाखबाट प्रसारण हुने जानकारी दिइएको छ।

एसआरविएन मिडियाका प्रमुख कार्यकारी अधिकृत विपिनकुमार आचार्यले एपिवान टेलिभिजनसंगको सहकार्यमा एसआरविएन मिडियाले उत्पादन गर्ने "को बन्छ करोडपति" लाई नेपालमा विश्वस्तरीय गुणस्तरमै उत्पादन गर्ने जानकारी दिए।


ग्रेट ब्रिटेनकै ढाँचा अनुसार रजिस्ट्रेसन खुलेपछि एसएमएस र आभीआरद्वारा छानिने र ती मध्ये १० जना फास्टेस्ट फिंगरकालागि चुनिने आयोजकले  जनाएको छ। चुनिएका १० जना कार्यक्रममा गई हट सिटको लागि प्रतिस्पर्धा गर्दछन् र ती मध्ये छिटो उत्तर मिलाउने भाग्यमानीले एक करोडको लागि खेल्न पाउँछन्। खेलको बीचमा उसको सहजताको लागि तीनवटा लाइफ लाइन "फीप्टी फीप्टी, अडियन्स पोल र फोन अर फ्रेण्ड" हुन्छन, जुनलाई कुनै अफ्ठ्यारो स्थितिमा उसले प्रयोग गर्न पाउँछ। 

"को बन्छ करोडपति" कार्यक्रमको दर्ता शुरु हुनुअघि नै यसलाई मोवाइलमा एप डाउनलोड गरेर टेलिभिजनमा जस्तै खेल्न सकिने बनाइएको छ ।"को बन्छ करोडपति"को मोवाइल एप मोवाइलको एप स्टोरमा गएर 'केविसि नेपाल' टाइप गरेर मोवाइलमा एप डाउनलोड गर्न सकिन्छ ।  


TAGS : Rajesh Hamal ,



MOVIES NEXT WEEK

No Movies!